Make a blog

गैराघरेकाे चाैतारी

2 years ago

गीत

केटी राम्रा उकुसमुकुस, अंग मौलाएर
भन्छन सबै हिजोआज, मलाई औलाएर

जुन राम्रो चम्किएको, फूल फक्रिएको
ज्यान राम्रो जवानीमा, बैस लर्किएको

अपजस आउछ गाउँमा, केटा बौलाएर
अटसमटस अंग साँच्चै, आयो मौलाएर

केटी राम्रा उकुसमुकुस............

मलाइहेरी विम्व दिन्छन, खोला उर्लिएको
निकै लाग्छ छातिठोकी, टोलै कुर्लिएको
नयाँ चामल खान्छुभन्छन, धेरै चौलाएर
अटसमटस अंग साँच्चै, आयो मौलाएर

केटी राम्रा उकुसमुकुस, अंग मौलाएर
भन्छन सबै हिजोआज, मलाई औलाएर

गैराघरे
केउरेनीपानी–६, भोजपुर ।

2 years ago

Ghazal

नजिकिनु भन्दा बरु टाढै बस्नु वेश ।
दुरी हट्दा दुनियाँको दुखेको छ केश ।।

के चाहिन्छ विश्वास गर्न आँखा चिम्लिएर,
रिसाउनुको विकल्पमा आफ्नो राय पेश ।।

खुसीहुँदा त्यहि पत्थर पुज्ने पनि उही,
फोर्न खोज्ने पनि उही जब लाग्छ ठेश ।।

सरकारसँग दुस्मनी छ न त घरबारै छ,
वितृष्णा छ तर पनि चाहिँदो रैछ देश ।।

अरुको त के कुरा खै आफ्नै मनले लुट्छ,
अपुरा यि चाहनाले पारे मलाई शेष ।।

2 years ago

Ghazal

खुसी सबैसँग बाँड्नु पीडा छोपी राख्नूू ।
पीडा नै त इज्जत हो आँफै बोकी राख्नूू ।।

अपेक्षाको रासमाथि राख्दै फूलपाती,
भीखै मागेसरी देउता किन ढोगी राख्नु ।।

जसको दुःख उसैलाई माया हुँदो रैछ,
अरुले त घार पाए खोज्छन घोची राख्नु ।।

पुर्याउनेको वेहालसँग कसलाई वास्ता छ र,
भेटेसम्म ध्याउन्न छ भित्री गोजी राख्नु ।।

विना स्वार्थ मनैदेखि म त समर्पित छुु,
हैन जस्तो लाग्छ माया मनमा खोटी राख्नुु ।।

उठाएर गुम्सिएको दुुःख नबुुझ्नेको,
निसासिदै थोत्रो घुम्टो किन ओडी राख्नुु ।।
  

2 years ago

Ghazal

एकै छिनको पूर्णिमाले चन्द्रमाको दाग खुल्छ ।
नगर माग मिलनको सामु हुँदा राज खुल्छ ।।

आधा जीवन अन्धकारमा डुबाएको थाहै हुन्न,
हामी घाम घाम भन्छाँै, बत्तिबाट साँझ खुल्छ ।।

चोरी भित्र रम्नेहरु पछुतोको घुम्टो ओड्छन,
दुनियाँको सामु जब भर परेको रात खुल्छ ।।

दोकान थापी हिँड्नेलाई थाहा हुनु नौलो होइन,
आफ्नो सामान विक्री हुने कहाँकहाँ हाट खुल्छ ।।

अभरमा परेँ भनी यकिन दिने बटुवालाई,
नियत खोटै भएपनि हार्दिकताको बास खुल्छ ।। 

2 years ago

Ghazal

बोतल भित्र सराब जस्तै याद भित्र विगत हुन्छ ।
जति धेरै पुरानो छ उति गहिरो लत हुन्छ ।।


जवानी र नशा जब एउटै आँतमा बास गर्छन,
नजुराउनू यस्तो साइत खतरामा इज्जत हुन्छ ।।


मेरो साथी बलीयो छ जुनसुकै आयाम बाट,
सोखसँग गल्ति गर्छ म निर्धोलाई आपत हुन्छ ।।


खानै पर्छ भने हजुर नशायुक्त चोट खानू,
नियाल्नेको मनमा पनि मातलाग्ने खत हुन्छ ।। 


उठे शंका, बसे शंका, हाँसे शंका, रोए शंका,
यति धेरै अपजसीको नाम सोध्नू भरत हुन्छ ।।

2 years ago

Ghazal

हरायो कतै ठेगाना मनको जरुर केहि त गर्यौ तिमीले ।
उस्तै छ हालत वोली वचनको जरुर केहि त गर्यौ तिमीले ।।

निराशा थियो समय भित्र कुनै हौसला मिल्यो पवित्र,
आयो जमाना नौलो चलनको जरुर केहि त गर्यौ तिमीले ।।

निभेर दियो पोख्यो अँधेरी, मिलायो रातले धुरी मझेरी,
मेटियो दुरी धर्ति गगनको जरुर केहि त गर्यौ तिमीले ।

2 years ago

Ghazal

केहिकुरा मैले तिम्रो संगतसित सिकेको छु ।
केहि कुरा सहनलाई यि खतसित सिकेको छु ।।


छाती कटान गरीगरी वहाव सहज पारिदिन्छ,
तिम्रो यात्रा जोगाइराख्न पर्वतसित सिकेको छु ।।


गिर्दोलाई सम्हाल्नमा कति जोखिम मोल्नुपर्छ,
मैले आफ्नै खस्किएको इज्जतसित सिकेको छु ।।


बग्दाबग्दै मैलो पानी संलिएर आएपछि,
सुधार के हो प्रकृतिको आदतसित सिकेको छु ।।


तयारीमा जुट्नू सँधै यज्ञ नै त हो जिन्दगी,
बेलाबेला आइपर्ने आपतसित सिकेको छु ।। 

- Gairaghare